काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत बन्नको लागि कम्तीमा १५ वर्षको कार्य अनुभव आवश्यक पर्ने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को सीईओ छनौट तथा सिफारिस सम्वन्धी कार्यविधि २०८३ ले उक्त व्यवस्था गरेको हो ।
कार्यविधि अनुसार सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (CA) वा सो सरहको उपाधि हासिल गरी पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा पन्ध्र वर्षको कार्यानुभव भएको नेपाली नागरिक हुनुपर्ने छ ।
व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृतस्तरको कम्तीमा द्वितीय श्रेणी वा सो सरह, वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सोभन्दा दुई तहमुनिसम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्ति भनि कार्यविधिमा उल्लेख गरिएको छ ।
यसैगरी धितोपत्र व्यवसायी संस्थामा लाभको पदमा रही नियुक्त भएको एक वर्ष व्यतीत भइनसकेको। र अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) को दफा ३ को खण्ड (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई पैंसट्ठी वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।
उम्मेदवारको मूल्याङ्कनसम्बन्धी अङ्कभारमा भने आवेदकको मूल्याङ्कन दुई चरणमा हुनेछ। प्रथम चरणको मूल्याङ्कन शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाको परीक्षण गरी कुल ५५ पूर्णाङ्कमा गरिनेछ। दोस्रो चरणको मूल्याङ्कन नेतृत्व क्षमता र कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता गरी कुल ४५ पूर्णाङ्कमा गरिनेछ।
त्यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनका लागि १५ (पन्ध्र) दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिका, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र अर्थ मन्त्रालयको वेबसाइटमा सूचना प्रकाशन गरी आवेदन माग गरिने जनाइएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाको आधारमा छनोट गरी नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधनसहित) को दफा ७ को उपदफा (२) बमोजिम यो कार्यविधि बनाइएको बताइएको छ ।


