काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका २० लाख ८० हजार कित्ता साधारण शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बाँडफाँट गरिसकिएको छ।
त्यस्तै, १ लाख ४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि, ५२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र २० हजार ८ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी रहेको ८ लाख ६३ हजार २ सय कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
यो निष्कासन छिटोमा भदौ २५ गते बन्द हुनेछ भने ढिलोमा असोज ५ गतेसम्म खुला रहनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
कस्तो छ रेटिङको अवस्था?
बेनी हाइड्रोपावरका लागि रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्रा नेपाल इस्युअर रेटिङ डबल बी प्लस ग्रेडिङ प्रदान गरेको छ। धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ र क्रेडिट रेटिङ नियमावली, २०६८ बमोजिम डिल्लीबजार, काठमाडौँस्थित इक्रा नेपालले २०८२ फागुन १ गते प्रदान गरेको यो रेटिङको वैधता अवधि २०८३ माघ २९ गतेसम्म रहनेछ। डबल बी प्लस रेटिङले कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्ने क्षमतामा मध्यम वा औसत जोखिम रहेको बुझाउँछ।
कति कित्ताका लागि दिने आवेदन?
बेनी हाइड्रोपावरको शेयर पाउन लगानीकर्ताले गोलाप्रथा कै भर पर्नुपर्ने देखिएको छ। कम्पनीले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २ सय कित्ता मात्र शेयर निष्कासन गरेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा ८६,३२० जनाले मात्रै शेयर पाउनेछन्।
कस्तो कम्पनी हो?
जलविद्युत् आयोजनाको विकास, निर्माण र सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम २०६३ कात्तिक २४ गते ‘बेनी हाइड्रोपावर प्रोजेक्ट प्राविधिक लिमिटेड’ को रूपमा स्थापना भएको हो। प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको यो कम्पनी २०७८ असार ३१ गते पब्लिक लिमिटेडमा परिणत भएको थियो। कम्पनीले २०७९ असोज १४ गतेदेखि कम्पनी रजिष्ट्रारको कार्यालयबाट व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरी कारोबार गर्दै आएको छ।
कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. ५ मा रहेको छ। आयोजना स्थल, जलविद्युत् उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरू सोलुखुम्बु जिल्लाको हाल सोलुदूधकुण्ड नगरपालिका वडा नं. २ र ३ (साविक बेनी, तामाखानी र सल्लेरी गा.वि.स.) मा रहेका छन्।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका हुँदै बग्ने सोलु र जुनबेसी खोलाको पानी प्रयोग गरी कुल १९.८ मेगावाट क्षमताको ‘माथिल्लो सोलु खोला जलविद्युत् आयोजना’ बाट विद्युत् उत्पादन गरिरहेको छ। उक्त आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्न कम्पनीले २०७७ साउन १५ गते विद्युत् प्रसारणको अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको थियो, जसको अवधि २४ वर्ष बाँकी रहेको छ।
आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले साधारण शेयर निष्कासन गर्नुको मुख्य उद्देश्य आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई शेयर बिक्री गरी लगानीको प्रत्यक्ष अवसर प्रदान गर्नु रहेको छ। यसका साथै कम्पनीको वित्तीय तथा आर्थिक गतिविधिहरूलाई थप सुदृढ र विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्थापन गर्नु पनि यसको उद्देश्य हो।
कम्पनीको प्रबन्धपत्रमा तोकिए बमोजिमको पुँजी संरचना कायम गर्न तथा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाट सङ्कलन भएको रकम बैंकबाट लिइएको ऋण भुक्तानीमा प्रयोग गरी कम्पनीको वित्तीय भार कम गर्न यो शेयर जारी गरिएको हो।
निष्कासनबाट प्राप्त हुने रकमको उपयोग
कम्पनीले शेयर निष्कासनबाट प्राप्त हुने सम्पूर्ण रकम बैंकबाट लिइएको ऋण भुक्तानीका लागि प्रयोग गर्ने भएको छ। विवरण अनुसार आईपीओ मार्फत सङ्कलन हुने कुल २० करोड ८० लाख रुपैयाँ पूरै रकम बैंकको ऋण फर्छ्यौटमा उपयोग गरिनेछ। सार्वजनिक निष्कासन गरिएको शेयर पूर्ण रूपमा बिक्री नभएमा निष्कासनको उद्देश्य प्राप्ति गर्नका लागि वैकल्पिक व्यवस्था अपनाइने समेत जनाइएको छ।
वित्तीय अवस्था
गत आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ४३ पैसा र प्रतिशेयर आम्दानी २१ रुपैयाँ १७ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा १० करोड ३४ लाख ५८ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ७ करोड २६ लाख ५५ हजार रुपैयाँ, प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७० पैसा रहेको थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड २२ लाख ४१ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ८७ पैसा पुग्ने अनुमान गरिएको छ।



