काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएका छन् ।
सिँचाइ सुविधा विस्तारसँगै आयोजनाहरूले चालु आर्थिक वर्षको पहिलो पाँच महिनाभित्र थप क्षेत्रफलमा पानी पुर्याउने लक्ष्यसमेत निर्धारण गरेका छन् । सिक्टा र बबई दुवै आयोजनाले पुस मसान्तसम्म थप ३००–३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेका छन् । सिक्टा सिँचाइ आयोजनाले ५४ करोड ३ लाख रुपैयाँ लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ । आयोजनाले पुस मसान्तसम्म २ अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका थप १७ वटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । सोही अवधिमा ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य रहेको छ ।
त्यस्तै, बबई सिँचाइ आयोजनाले पनि पुस मसान्तसम्म थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको जलस्रोत तथा सिँचाइ विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले बताए ।
रानी जमराको भौतिक प्रगति १५ प्रतिशत
कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति पनि बढेको छ । विभागका अनुसार आयोजनाको भौतिक प्रगति साउनमा ८ प्रतिशत रहेकोमा भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । यस अवधिमा वित्तीय प्रगति पनि ५।२५ प्रतिशतबाट बढेर ११।४३ प्रतिशत पुगेको छ ।
आयोजनाले १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लागत अनुमानका ६ वटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म थप २ अर्ब ३० करोड रुपैयाँ बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी, पुस मसान्तसम्म १।५ किलोमिटर तटबन्ध निर्माण गर्ने र १६० हेक्टर जग्गा उकास गर्ने लक्ष्य आयोजनाले लिएको छ ।
भेरी बबईको भौतिक प्रगति ३.४ प्रतिशत मात्रै
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक प्रगति भने भदौ मसान्तसम्म ३।४ प्रतिशत मात्रै पुगेको छ । आयोजनाको वित्तीय प्रगति ३।४९ प्रतिशत रहेको विभागको तथ्यांक छ । आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ ।
यता, सुनकोशी मरिन डाइभर्सन आयोजनाले पुस मसान्तसम्म ९७ हेक्टर जमिनमा लिफ्ट सिँचाइ सुविधा पुर्याउने र ६।१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । यसरी राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तारसँगै निर्माण तथा ठेक्का प्रक्रियालाई पनि अघि बढाउने लक्ष्य राखेका छन् ।



