काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) र बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनस्र्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानमा सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार भारतको राजधानी नयाँ दिल्लमिा भएको समझदारीपत्रमा भारतीय उद्योग परिसंघका तर्फबाट सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनी र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार दुवै संस्थाले बाढी प्रभावित समुदायको तत्कालीन स्वास्थ्य तथा सरसफाइसम्बन्धी आवश्यकता पूरा गर्न तथा जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनःस्थापना गर्न संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन् ।
कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य सेवा र राहतलाई प्राथमिकता दिइनेछ । यसअन्तर्गत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वास्थ्य सामग्री (वास किट) वितरण र अस्पतालहरूलाई एम्बुलेन्स उपलब्ध गराउने योजना रहेको छ। स्वास्थ्य शिविरमार्फत सामान्य स्वास्थ्य परीक्षण, मातृ तथा बाल स्वास्थ्य सेवा, बाढीपछि देखिन सक्ने पानीजन्य तथा अन्य सङ्क्रामक रोगको पहिचान र उपचारमा सहयोग गरिनेछ ।
त्यसैगरी, प्रभावित समुदायका परिवारलाई व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी तथा रोगको संक्रमण रोकथामका लागि आवश्यक सामग्री उपलब्ध गराइनेछ । दुईवटा अस्पताललाई अत्यावश्यक जीवनरक्षा सेवासहितका एम्बुलेन्स उपलब्ध गराउने प्रस्तावसमेत समझदारीपत्रमा समेटिएको छ ।
समझदारीअनुसार पहिलो चरणको स्वास्थ्य तथा राहत कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यसका लागि प्रभावित क्षेत्रको स्थलगत आवश्यकता मूल्यांकन, लाभग्राही पहिचान, कार्यक्रम सञ्चालनस्थल निर्धारण तथा आवश्यक सरकारी स्वीकृति लिने प्रक्रिया अघि बढाइनेछ ।
कार्यक्रमको दोस्रो चरणमा बाढीबाट प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापनामा सहयोग गरिनेछ। यसअन्तर्गत कृषि, पशुपालन, साना व्यवसाय तथा स्थानीय सेवामूलक उद्यम पुनःसञ्चालनका लागि आवश्यक औजार, उपकरण, सीप विकास तथा व्यावसायिक तालिम उपलब्ध गराउने प्रस्ताव छ ।
त्यस्तै, बाढीबाट प्रभावित सूक्ष्म, लघु तथा साना उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि प्राविधिक सहयोग, वित्तीय पहुँचसम्बन्धी जानकारी, बजार सम्पर्क तथा नेपाली र भारतीय उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तारमा सहकार्य गरिनेछ । प्रभावित जिल्लाको स्थानीय आर्थिक पुनरुत्थान तथा विकास योजना निर्माणमा समेत सहयोग गर्ने समझदारी भएको छ ।
समझदारीअनुसार भारतीय उद्योग परिसंघले भारतीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय, कार्यक्रमका लागि आवश्यक स्रोत परिचालन र कार्यान्वयन साझेदार पहिचान गर्नेछ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा स्थानीय निकायसँग समन्वय, आवश्यक स्वीकृति तथा सहजीकरण, स्थानीय उद्योगी व्यवसायीको सहभागिता र कार्यक्रमको स्थानीय व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछ ।
कार्यक्रम बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । आवश्यकता र सम्भाव्यताका आधारमा गोरखा, बागलुङ तथा दोस्रो चरणको बाढीबाट प्रभावित मुस्ताङ र मनाङलगायत क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्न सकिने समझदारीपत्रमा उल्लेख छ। अन्तिम कार्यक्षेत्र भने स्थलगत अध्ययन र नेपाल सरकार तथा स्थानीय निकायसँगको समन्वयमा निर्धारण गरिनेछ ।
यस सहकार्यले विपद्पछिको तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित परिवारको आयआर्जन, उद्यमशीलता र स्थानीय अर्थतन्त्रको पुनरुत्थानमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
एक वर्षका लागि लागू हुने समझदारीपत्रमा दुवै पक्षको आपसी सहमतिमा विशेष कार्यक्रम, स्रोत परिचालन तथा वित्तीय व्यवस्थासम्बन्धी थप सहमति छुट्टै गर्न सकिने व्यवस्था गरिएको छ ।



