काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई सरकारी वकिल कार्यालय ल्याइएको छ।
गैरकानुनी रूपमा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो। प्रहरीले अर्याललाई भारतमा पक्राउ गरी मंसिर १० गते नेपाल ल्याएको थियो । त्यसपछि बिहीबार प्रहरीले उनको निवासमा खानतलासीसमेत गरेको थियो ।
मलेसिया रोजगारीका नाममा भएको भनिएको आर्थिक अनियमितता, निर्णय प्रक्रियामा अधिकारीहरूको भूमिका र रकमको कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसै प्रकरणमा तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।



