काठमाडौं । नेपालमा भदौ दोस्रो साता आएको विनाशकारी बाढी र पहिरोपछि नेपाली सेनासहितको संयुक्त टोलीले प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्र रूपमा अघि बढाएको छ। २०८३ भाद्र १८ गते बिहान ११:०० बजेसम्मको विवरण अनुसार नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिएका छन्। सेनाले हवाई साधनमार्फत भाद्र १८ गते बिहान ११:०० बजेसम्म थप ६ जना नागरिकको सकुशल उद्धार गरेको छ।
बाढी र लेदोका कारण अवरुद्ध भएका जलविद्युत् आयोजनाका टनेलहरूमा प्राविधिकसहितको टोलीले उद्धार कार्य जारी राखेको छ। त्रिशूली-३A मा ९३ जनाको टोलीले ५ वटा एक्साभेटर प्रयोग गरी रातभर टनेलको आउटलेटमा भरिएको लेदो र माटो पन्छाएको छ भने रातको करिब २ बजे टनेलको आउटलेटको प्वाल ठूलो बनाउन माथिल्लो भागमा ब्लाष्टिङ्ग गरी सफा गर्ने कार्य भइरहेको छ। लाङटाङ हाइड्रोमा विदेशी विशेषज्ञसहित २५ जनाको टोलीले टनेलभित्र १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना-साना होल बनाएर खोजी गरिरहेको छ। यस्तै त्रिशूली-३B मा सेना, गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले बोबक्याट र एक्साभेटरमार्फत कार्यालय तथा निवास क्षेत्रसम्म बाटो खोल्ने काम गरिरहेको छ भने चिलिमे हाइड्रोमा पनि संयुक्त टोलीले खोजी जारी राखेको छ।

जमिनी खोज तथा राहततर्फ स्याफ्रुवेशी, त्रिशूली पारिको कोलोनी, तुप्चे, सोले बजार लगायतका स्थानमा उद्धार कार्य भइरहेको छ। प्रभावित क्षेत्रका जङ्गल, डाँडा र खोला किनारमा पैदल गस्ती गरी स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिनुका साथै नेपाली सेनाका डाक्टर अधिकृतहरूमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको छ। सम्भावित महामारी फैलिन नदिन डाक्टर अधिकृतहरूले नुवाकोटको पिपलटार र चितवनको देवघाटमा रहेका होल्डिङ्ग सेन्टरहरूमा सचेतनामूलक कक्षा समेत सञ्चालन गरेका छन्।

यसैबीच प्रधान सेनापति महारथी अशोक राज सिग्देलले त्रिशूली र उद्धार कार्य भइरहेका टनेल लगायतका प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गरेका छन्। अनुगमनका क्रममा उनले सबै सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै सकलदर्जालाई उच्च मनोबलका साथ खोज तथा उद्धार कार्य जारी राख्न निर्देशन दिएका छन् ।




