काठमाडौं । नेपालको पर्यटन तथा होटल क्षेत्रले विगत दुई वर्षदेखि लगातार वित्तीय र भौतिक चुनौतीहरूको सामना गरिरहेको छ। गत वर्ष सन् २०२५ को पर्यटकीय सिजनमा भएको जेन-जी आन्दोलनका कारण खस्किएको पर्यटन व्यवसायलाई सन् २०२६ मा पर्यटकीय सिजनकै मुखमा आएको विनाशकारी बाढी-पहिरोले थप सङ्कटमा धकेलिदिएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा नेप्सेमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रको वित्तीय अवस्था अत्यन्त निराशाजनक देखिएको थियो। सार्वजनिक चौथो त्रैमासिक विवरण अनुसार यो क्षेत्रको समग्र सञ्चालन आम्दानी १४.५३ प्रतिशतले घटेर ६ अर्ब २१ करोडमा रुपैयाँ सीमित भएको छ। समीक्षा अवधिमा सोल्टी होटल र कालिञ्चोक दर्शन बाहेक अन्य कम्पनीको नाफा घट्दा ५ वटा ठूला होटलहरू खुद घाटामा पुगिसकेका छन्।
पर्यटकीय चहलपहल बढे पनि ठूला होटलको व्यापार खुम्चियो,आम्दानीमा १४.५३ प्रतीशतले गिरावट
यसरी पहिले नै वित्तीय दबाबमा रहेको पर्यटन क्षेत्रलाई हालै रसुवा, नुवाकोट लगायतका क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोले थप प्रभावित बनाएको छ। रणनीतिक राजमार्ग, पुल तथा पर्यटकीय पूर्वाधारमा पुगेको ठूलो क्षतिले पर्यटकीय पहुँच र आगमनलाई नराम्ररी प्रभावित बनाएको छ। नयाँ पर्यटकीय सिजन सुरु हुने समयमै पुगेको यो भौतिक क्षतिले चालु आर्थिक वर्षमा होटलहरूको सञ्चालन आम्दानी र नाफामा अझै ठूलो गिरावट ल्याउने जोखिम बढाएको छ।
नेपाल होटल सङ्घ (हान) का महासचिव साजन शाक्यका अनुसार अन्तर्राष्ट्रिय स्तरमा देशभरि नै बाढीको त्रास फैलिएको सन्देश गए तापनि वास्तविक क्षति सीमित क्षेत्रमा मात्र रहेको छ। देशका कुल ७७ जिल्लामध्ये मुख्य रूपमा तीनवटा जिल्लामा मात्र बाढी-पहिरोले ठूलो असर पुर्याएको र काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीजस्ता प्रमुख पर्यटकीय सहरहरूलगायत पदयात्राका (ट्रेकिङ) मुख्य रुटहरू पूर्ण रूपमा सुरक्षित रहेको उनले स्पष्ट पारेका छन्।
नेपालका अधिकांश पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगत्मा पुर्याउन सङ्घ, नेपाल सरकार, पर्यटन मन्त्रालय र विदेशस्थित नेपाली दूतावासहरू मिलेर ‘नेपाल इज सेफ’ (Nepal is Safe) अभियान सञ्चालन गरिरहेका छन्। यसका साथै, विदेशस्थित नेपाली दूतावासहरू, राजदूतहरू तथा कूटनीतिक कर्मचारीहरूले समेत आ-आफ्नो क्षेत्रबाट नेपाल सुरक्षित रहेको घोषणा गर्दै प्रचारप्रसार गरिरहेका छन्।
बाढीको तत्कालीन असरले सेप्टेम्बर महिनामा पर्यटक आगमन केही सुस्त रहे तापनि निरन्तरको प्रवर्द्धनात्मक प्रयास र अनुकूल मौसमका कारण आगामी अक्टोबर र नोभेम्बर महिनामा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनेमा महासचिव शाक्य आशावादी छन्।
यसैबिच, होटल क्षेत्रमा आउने प्रत्यक्ष वैदेशिक लगानी भन्दा पनि अन्तर्राष्ट्रिय चेन होटलहरूको व्यवस्थापन टोली नेपाल भित्रिने क्रम बढ्दो रहेको महासचिव शाक्यले बताए। गत वर्षको जेन-जी आन्दोलन र पछिल्ला चुनौतीका बाबजुद विदेशी चेन होटल तथा व्यवस्थापन साझेदारहरू डराएका छैनन्। आन्दोलनअघि र पछि पनि नयाँ-नयाँ अन्तर्राष्ट्रिय ब्रान्ड र व्यवस्थापन टोलीहरू नेपाल आउने क्रम यथावत् रहेको र यस क्षेत्रमा कुनै नकारात्मक असर नपरेको उनले स्पष्ट पारे।



