काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतदान २ बजेदेखि शुरू हुने भएको छ । निर्वाचन समितिले निर्वाचन व्यवस्थापनबारे पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेसँगै २ बजेदेखि मतदान शुरू हुने निर्वाचन समितिले जनाएको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग भएको छलफलपछि २ बजेदेखि मतदान गर्ने कार्यक्रम तय भएको बताए ।
उनले खुलामञ्चमा २ बजेदेखि नै शुरू गर्ने भए पनि राष्ट्रिय सभागृहमा भने केही समय ढिला हुन सक्ने जानकारी दिए ।
खुलामञ्चमा भने निर्वाचन अधिकृतहरू मतदानका लागि तयारी अवस्थामा रहेका छन् ।
कुन ठाउँमा हुँदैछ कुन क्षेत्रको मतदान ?
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’
बागमती प्रदेश
मतदान केन्द्र ‘ख’ खुलामञ्चमा
कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाल हल
गण्डकी प्रदेश
तराई–मधेस हल
मधेश प्रदेश
पहाड हल
लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।
निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।
अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना शुरू गरिने निर्वाचन समितिले जनाएको छ।
१५ औँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।
मतदान सकिएपछि मतगणना शुरू हुनेछ भने मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।




