काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले सुन तथा चाँदीको धितोमा प्रवाह गर्ने कर्जा पछिल्लो एक दशकमा साढे चार गुणाभन्दा बढीले बढेको छ। सन् २०१६ मा २६ अर्ब ३२ करोड ६४ लाख रुपैयाँ रहेको यस्तो कर्जा सन् २०२६ सम्म आइपुग्दा १ खर्ब १६ अर्ब ३० करोड २३ लाख रुपैयाँ पुगेको छ।
तथ्याङ्कअनुसार सन् २०१६ मा २६ अर्ब ३२ करोड रुपैयाँ रहेको सुन कर्जा सन् २०१७ मा बढेर ३२ अर्ब ८४ करोड रुपैयाँ पुगेको थियो। तर त्यसपछिका दुई वर्ष सन् २०१८ र २०१९ मा भने यस्तो कर्जामा सामान्य गिरावट आई क्रमश ३२ अर्ब ६१ करोड र ३१ अर्ब ८७ करोड रुपैयाँमा सीमित भयो।
सन् २०२० पछि भने बजारमा सुनको मूल्यमा भएको निरन्तर वृद्धि र सरल कर्जा प्रक्रियाका कारण बैंकहरूको सुन कर्जा तीव्र गतिमा बढ्न थाल्यो। सन् २०२० मा ३४ अर्ब २० करोड, २०२१ मा ३८ अर्ब ४९ करोड, २०२२ मा ४७ अर्ब ८१ करोड, २०२३ मा ५० अर्ब ६५ करोड र २०२४ मा ५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो।
विशेष गरी सन् २०२५ र २०२६ मा यस कर्जामा ठूलो उछाल आएको देखिन्छ। सन् २०२५ मा एकै वर्षमा झन्डै २३ अर्ब रुपैयाँले बढेर ७६ अर्ब ९७ करोड रुपैयाँ पुगेको कर्जा सन् २०२६ मा आइपुग्दा १ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ नाघेको छ। बैंकहरूका अनुसार सुरक्षित धितो मानिने, जोखिम कम हुने र प्रक्रिया पनि सहज हुने भएकाले सर्वसाधारण र बैंक दुवैका लागि सुन कर्जा आकर्षणको केन्द्र बनेको हो।

यसैगरी, नेपालका ‘ख’ वर्गका विकास बैंकहरूले प्रवाह गर्ने सुन तथा चाँदी कर्जामा पनि पछिल्लो एक दशकमा ठूलो उतारचढावसहित उल्लेख्य वृद्धि देखिएको छ। सन् २०१६ मा ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँ रहेको विकास बैंकहरूको यस्तो कर्जा सन् २०२६ सम्म आइपुग्दा १०८.५८ प्रतिशतले बढेर ८ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ पुगेको छ। विश्वव्यापी रूपमा बढेको सुनको मूल्य, सरल प्रक्रिया र तत्काल नगद प्रवाहका कारण विकास बैंकहरूबाट सुन-चाँदी धितोमा लिइने कर्जातर्फ सर्वसाधारण तथा व्यवसायीको आकर्षण तीव्र रूपमा बढेको हो।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सन् २०१६ मा ४ अर्ब १८ करोड रुपैयाँ रहेको कर्जा निरन्तर उकालो लाग्दै सन् २०१७ मा ४ अर्ब ३० करोड, २०१८ मा ४ अर्ब ८५ करोड र २०१९ मा ५ अर्ब ४४ करोड १५ लाख रुपैयाँ पुगेको थियो। तर, सन् २०२० मा विश्वव्यापी महामारी कोभिड-१९ र लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा विकास बैंकहरूको सुन-चाँदी कर्जामा ४०.१९ प्रतिशतको ठूलो गिरावट आई ३ अर्ब २५ करोड ४३ लाख रुपैयाँमा सीमित हुन पुग्यो। त्यसपछिका वर्षहरूमा बजार सामान्य बन्दै गएपछि कर्जामा क्रमिक सुधार आयो। सन् २०२१ मा ३ अर्ब ७१ करोड र २०२२ मा ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको यो कर्जा २०२३ मा ३ अर्ब ९३ करोड १० लाख र २०२४ मा ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँको दायरामा केही स्थिर रह्यो।
पछिल्ला दुई वर्षमा भने विकास बैंकहरूको सुन-चाँदी कर्जामा अनपेक्षित उछाल आएको छ। सन् २०२५ मा ३९.५६ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड ३० लाख रुपैयाँ पुगेको कर्जा सन् २०२६ मा एकै वर्षमा ५९.०७ प्रतिशतको उच्च वृद्धि हासिल गर्दै ८ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ नाघेको छ।






