RE
Global College

पोखरामा स्कुल बस दुर्घटना: ४ विद्यार्थीसहित ५ जनाको मृत्यु, १४ घाइते

काठमाडौं ।  कास्कीको पोखरा महानगरपालिका-२८ कालिकानस्थित ओख्लेको भिरमा शुक्रबार बिहान कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस दुर्घटना हुँदा ४ बालबालिकासहित ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

पोखरा-२८ माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकहरूमा पोखरा-२८ का ६५ वर्षीय बाबुराम तिवारी उपचारका लागि लिफ्ट मागेका यात्रु, १२/१३ वर्षीया ममता तिवारी, १३/१४ वर्षीय अशिम कँडेल र पहिचान नखुलेका दुई जना १३/१४ वर्षीया बालबालिका रहेका छन्। उनीहरूलाई बिहान ८:३५ देखि ९:०० बजेको बीचमा मृत घोषणा गरिएको थियो।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये ३ जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा उपचार भइरहेको छ। गण्डकी मेडिकल कलेजमा उपचाररत कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू सृष्टि तिवारी, शिसन थापा मगर र सौगात तिमिल्सिनाको अवस्था मध्यम रहेको छ।

त्यसैगरी गण्डकी अस्पतालमा उपचाररत घाइतेहरूमा १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर (सिरियस) रहेको छ भने चालक ५७ वर्षीय तुल बहादुर गुरुङसहित अन्य १० जना विद्यार्थीको अवस्था मध्यम रहेको छ। घाइते विद्यार्थीहरूमा स्नेहा गौतम, सोनिया तिवारी, अंकित पराजुली, स्मृती खत्री, स्नेहा तिवारी, आकृती बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य र यमन मगर रहेका छन्।

उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

NECO

Leave Your Comment

Related News