काठमाडौं । नेपाली कांग्रेसको जारी पन्ध्रौँ महाधिवेशनमा सभापति पदमा पराजित श्यामकृष्ण खड्गीले बहुमतले विजयी गगन थापालाई शुभकामना दिएका छन्।
शनिबार बिहान सार्वजनिक मतपरिणामअनुसार उनी गगनसँग भारी मतान्तरले हारेका छन्। ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा मेरो प्रिय मित्र श्री गगनकुमार थापाज्यू उहाँ र मबिच भएको मित्रवत् प्रतिस्पर्धामा विजयी हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’, खड्गीले सामाजिक सञ्जालमा लेखेका छन्।
यस क्रममा उनले विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी र विभाजनका भावनालाई अन्त्य गर्दै, छुट्टै महाधिवेशनको बाटोमा रहेका साथीहरूलाई समेत संवाद, सहमति र सम्मानका साथ एकताको मूलधारमा समेट्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन्।
उनले अगाडि लेखेका छन्, ‘गगनजी, अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ। तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस्। कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस्, सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून्।’
उनले अगाडि लेखेका छन्, ‘नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुन्छ। मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन। प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन।’





