काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल उद्योगमा आइतबार बिहान आगलागी हुँदा ८ जना मजदुर घाइते भएका छन्। कात्तिक १५ गते बिहान करिब ५:४० बजे कम्पनीभित्र रहेका २५ टन क्षमताका तीनवटा फलाम पगाल्ने भट्टीमा अचानक विद्युत् सर्ट सर्किट भई आगलागी भएको हो।
दुर्घटनामा बाँकेका ५ जना र भारत बहराइचका ३ जना मजदुर घाइते भएका छन्। घाइतेहरूमध्ये मध्यम अवस्थामा रहेका जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनलाई भेरी अस्पताल नेपालगञ्जमा प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। अन्य घाइतेहरू २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव तथा भारतका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषादको अवस्था सामान्य रहेको छ।
इलाका प्रहरी कार्यालय खजुरा खुर्दका प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा खटिएको प्रहरी टोली, नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल तथा सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहान ८:१५ बजे आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट भएको अन्य भौतिक क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



