काठमाडौं । रौतहटको बौधीमाई नगरपालिकाबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डमा सञ्चालन गरिएको नियमित जाँचका क्रममा प्रहरी चौकी बंकुलका प्रहरी सहायक निरीक्षक रमेश यादवको कमाण्डमा खटिएको गस्ती टोलीले उक्त रकम बरामद गरेको हो।
प्रहरीका अनुसार २०८३ कात्तिक १६ गते दिउँसो करिब १२:२० बजे बाराबाट रौतहटतर्फ जाँदै गरेको BR05AF3787 नम्बरको भारतीय मोटरसाइकललाई शङ्का लागी जाँच गर्दा मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइछिपाई राखिएको अवस्थामा रकम फेला पारिएको थियो।
बरामद रकममा १ हजार रुपैयाँ दरका ५९३ थान (५ लाख ९३ हजार) र ५ सय रुपैयाँ दरका ८१४ थान (४ लाख ७ हजार) गरी कुल १० लाख रुपैयाँ रहेको छ।
रकमसहित मोटरसाइकल र चालक भारतको बिहार राज्य, मोतिहारी जिल्ला घोडसन ग्राम बस्ने अन्दाजी ३३ वर्षीय टुना दासलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले बरामद रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दासमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।



