काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ८ हजार ९७६ वटा उजुरी फर्छ्योट गरेको छ। आयोगका अनुसार साउनदेखि असोजसम्मको अवधिमा नयाँ तथा पुराना गरी कुल १७ हजार ७८७ उजुरी रहेकामा उक्त संख्यामा उजुरी फर्छ्योट गरिएको हो।
आयोगका अनुसार समीक्षा अवधिमा ९ हजार ७६८ वटा नयाँ उजुरी दर्ता भएका थिए। त्यस्तै, गत आर्थिक वर्ष २०८२/८३ बाट जिम्मेवारी सरेर आएका ८ हजार १९ उजुरीसमेत गरी कुल उजुरी संख्या १७ हजार ७८७ पुगेको थियो। तीमध्ये ८ हजार ९७६ उजुरी फर्छ्योट भएका छन् भने ८ हजार ८११ उजुरी अनुसन्धानकै क्रममा रहेका छन्।
फर्छ्योट भएका उजुरीमध्ये १३३ वटालाई विस्तृत अनुसन्धानमा लैजाने निर्णय गरिएको छ। त्यस्तै, ४२ वटा उजुरी सुझावसहित तामेली गरिएको, २ हजार ६५५ वटा उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको र १ हजार ५८५ वटा उजुरी सम्बन्धित अन्य उजुरीमा गाभिएको आयोगले जनाएको छ। बाँकी ४ हजार ५६१ वटा उजुरी तामेलीमा पठाइएको छ।
यस अवधिमा आयोगले विशेष अदालतमा ५६ वटा आरोपपत्र दायर गरेको छ। ती आरोपपत्रमा २५७ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध कुल ७२ करोड ६३ लाख ९५ हजार २२५ रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ।
त्यस्तै, आयोगले घुस (रिसवत) सम्बन्धी १३ वटा कारबाही गरेको छ। उक्त कारबाहीका क्रममा ३१ लाख १० हजार रुपैयाँ जफत गरिएको छ भने घुससँग सम्बन्धित २० जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
यसैगरी, विशेष अदालतले गरेका फैसलाप्रति चित्त नबुझेपछि आयोगले समीक्षा अवधिमा सर्वोच्च अदालतमा २६ वटा पुनरावेदन दर्ता गरेको छ।
आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आफ्नो एकल प्रयास मात्र पर्याप्त नहुने जनाएको छ। भ्रष्टाचार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन नेपाल सरकारका सबै निकाय, सार्वजनिक सेवा प्रदायक संस्था, सरोकारवाला निकाय, नागरिक समाज तथा सञ्चार जगतले आ–आफ्नो क्षेत्रबाट सहयोग र सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आयोगको भनाइ छ।



