काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ५६६ जना सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६७ जना, सीसीटिभीबाट पहिचान भएका ३७ जना, सङ्केत बत्ती उल्लङ्घन गर्ने २९ जना र तीव्र गतिमा सवारी चलाउने १२२ जना छन् ।
त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने १०, सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार जना कारबाहीमा परेका छन् । विभिन्न सवारी नियम पालना नगर्ने २७९ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुमाथि नियमअनुसार जरिवानासहितको कारबाही गरिएको प्रवक्ता सुवेदीले बताए ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ । सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।
सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारी मात्र नभई सडकमा हिँड्ने पैदलयात्रुसहित सबैको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ ।



