Global College

भीसीटीएसलाई व्यवसायमैत्री बनाउन सांसद खड्काको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशील खड्काले भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई थप व्यावहारिक, पारदर्शी र व्यवसायमैत्री बनाउनुपर्ने बताएका छन्। उनले प्रणाली कार्यान्वयनका क्रममा व्यवसायीले भोग्दै आएका अनावश्यक झन्झट हटाउन र जरिवाना व्यवस्थालाई न्यायोचित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलमा सांसद खड्काले यस्तो धारणा राखेका हुन्।

उनले भीसीटीएसको अवधारणा राम्रो भए पनि कार्यान्वयनमा देखिएका व्यावहारिक समस्याका कारण व्यवसायीले अनावश्यक दुःख पाउने गरेको बताए। एउटा जिल्लामा मुख्य कार्यालय रहेको कम्पनीले अर्को जिल्लाबाट सामान खरिद तथा ढुवानी गर्दा बाटोमा ट्राफिक प्रहरी र कर कर्मचारीबाट अनावश्यक चेकजाँच तथा जरिवानाको सामना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

देशभर व्यवसाय सञ्चालन गर्ने कम्पनीले ७७ वटै जिल्लामा शाखा कार्यालय खोल्न सम्भव नहुने उल्लेख गर्दै उनले एउटा जिल्लामा दर्ता भएको कम्पनीले अन्य जिल्लाबाट पनि सहज रूपमा सामान खरिद र ढुवानी गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए।

भीसीटीएसको उद्देश्य राजस्व चुहावट नियन्त्रण गर्नु भए पनि यसको नाममा व्यवसायीलाई दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ। बाटोमा चेकजाँच गर्ने प्रहरी तथा कर कर्मचारीलाई दिइएको अधिकारको दुरुपयोग रोक्नसमेत उनले माग गरे।

खड्काले भीसीटीएस उल्लंघनमा लाग्ने जरिवाना कारोबारको प्रकृति र सामानको वास्तविक मूल्यअनुसार निर्धारण गर्नुपर्ने बताए। विशेषगरी फोहोर व्यवस्थापन तथा रिसाइक्लिङ क्षेत्रमा १० देखि १५ हजार रुपैयाँसम्म मूल्य नपर्ने सामानमा समेत एक लाख रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था अव्यावहारिक रहेको उनले उल्लेख गरे।

त्यस्तै, रिसाइक्लिङ क्षेत्रमा हुने न्यून बिजकीकरण (अन्डर बिलिङ) लाई उनले राजस्व छलीको गम्भीर समस्याका रूपमा औँल्याए। प्रतिकिलो ५० रुपैयाँ मूल्य पर्ने फलामलाई दुईदेखि तीन रुपैयाँका दरले पत्रुका रूपमा कारोबार देखाएर वास्तविक मूल्य लुकाउने र त्यसबाट मूल्य अभिवृद्धि कर (भ्याट) समेत छली हुने गरेको उनले बताए।

केही समयअघि अर्थ समितिको उपसमितिले आन्तरिक राजस्व विभागमा गरेको अनुगमनका क्रममा समेत यस्तो समस्या देखिएको स्मरण गराउँदै खड्काले न्यून बिजकीकरण नियन्त्रणका लागि प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिए।

उनले भीसीटीएसलाई राजस्व चुहावट नियन्त्रण गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्न यसको कार्यान्वयन प्रक्रिया सुधार्नुका साथै व्यवसायीलाई अनावश्यक प्रशासनिक झन्झटबाट मुक्त गर्नुपर्ने बताएका छन्।

NECO

Leave Your Comment

Related News