काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा ऐन तथा नियमावली खारेज गर्ने प्रस्ताव अघि बढाएको छ। व्यावसायिक वातावरण सहज बनाउने, कानुनी दोहोरोपन हटाउने र विद्यमान कानुनी जटिलता न्यूनीकरण गर्ने उद्देश्यले अर्थ मन्त्रालयले यस्तो प्रस्ताव अघि सारेको हो।
अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले प्रतिनिधिसभाको अर्थ समितिमा भएको छलफलका क्रममा उक्त जानकारी दिएका हुन्।
उनका अनुसार विभिन्न अनुसन्धान तथा अध्ययन प्रतिवेदन, विशेषगरी उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुझाव र निजी क्षेत्रबाट प्राप्त मागका आधारमा सम्बन्धित ऐन संशोधन तथा खारेजीको प्रस्ताव अघि बढाइएको हो।
प्रस्तावअनुसार हाल राजस्व चुहावट नियन्त्रणसम्बन्धी कानुनमा रहेका मूल विषयहरूलाई सम्बन्धित ऐनमै समावेश गरिनेछ। आयकरसँग सम्बन्धित व्यवस्था आयकर ऐनमा राखिनेछ भने मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवस्तुको ढुवानी र ओसारपसारसँग सम्बन्धित भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) का व्यवस्था मूल्य अभिवृद्धि कर ऐनमा समेटिनेछन्।
त्यसैगरी, भन्सार क्षेत्रभित्र तथा बाहिर हुने चोरी पैठारी नियन्त्रणका लागि गरिने अनुसन्धानसम्बन्धी व्यवस्थालाई भन्सार ऐनमा समावेश गर्ने तयारी गरिएको दाहालले बताए।
उनका अनुसार एउटै विषयमा विभिन्न कानुनमा दोहोरो व्यवस्था हुँदा उत्पन्न हुने अन्योल र जटिलता अन्त्य गर्दै सम्बन्धित विषयलाई सम्बन्धित ऐनबाटै व्यवस्थित गर्ने सरकारको उद्देश्य छ।
सरकारको प्रस्ताव कार्यान्वयनमा आएमा कानुनी प्रक्रिया सरल हुनुका साथै निजी क्षेत्रले व्यावसायिक गतिविधि सञ्चालन गर्दा भोग्दै आएका कानुनी तथा प्रशासनिक जटिलता कम हुने अपेक्षा गरिएको छ।



