काठमाडौं । नागरिक लगानी कोषले सामाजिक सुरक्षा कोषबाट संस्थाहरूलाई अनिवार्य आबद्धताका लागि दिइने दबाबले आफ्नो कोष परिचालनमा समस्या सिर्जना भएको जनाएको छ। कोषमा पहिल्यै सहभागी भइसकेका संस्थाहरूलाई समेत सामाजिक सुरक्षा कोषले पुनः पत्राचार गरी आफ्नो कार्यक्रममा आबद्ध हुन दबाब दिने गरेको भन्दै नागरिक लगानी कोषले असन्तुष्टि जनाएको हो।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सामाजिक सुरक्षा कोषको यस्तो गतिविधिले संस्थाको कोष परिचालनमा जटिलता थपेको बताएका हुन्।
उनका अनुसार समान प्रकृतिका सेवा प्रदान गर्ने संस्थाहरूबीच प्रतिस्पर्धा बढ्दै गएको छ। विशेषगरी सामाजिक सुरक्षा कोषसँगको प्रतिस्पर्धा र रकम पठाउने तथा व्यवस्थापन गर्ने विषयमा रहेको कानुनी व्यवस्थाले नागरिक लगानी कोषलाई थप चुनौती दिएको छ।
कार्कीले पर्याप्त जनशक्ति नहुँदा पुँजी बजारमा निजी क्षेत्रका सेवा प्रदायक संस्थाहरूसँग प्रतिस्पर्धा गर्न पनि कठिन भइरहेको बताए। संस्थाको सेवा विस्तार र प्रभावकारी सञ्चालनका लागि जनशक्ति व्यवस्थापन महत्वपूर्ण रहेको उनको भनाइ छ।
यसैबीच, कार्यकारी निर्देशक कार्कीले नागरिक लगानी कोषको पुँजी वृद्धि योजनाबारे पनि जानकारी दिएका छन्। कोषले तत्काल हकप्रद शेयर जारी गरेर पुँजी जुटाउने योजना नबनाएको उनले स्पष्ट पारे।
उनका अनुसार ऐनले व्यवस्था गरेको अधिकृत पुँजीको सीमाभित्र रहेर संस्थाको आम्दानी र क्षमताअनुसार बोनस शेयर जारी गर्दै क्रमिक रूपमा पुँजी वृद्धि गर्ने रणनीति कोषले लिएको छ।



