काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ मर्यादाक्रमअनुसार कानुनमन्त्री सोविता गौतम तेस्रो वरीयतामा पुगेकी छन् भने प्रधानमन्त्री बालेन शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको जनाएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसअनुसार निर्णय गरिएको उल्लेख छ।
मर्यादाक्रममा प्रधानमन्त्री बालेन्द्र शाह पहिलो स्थानमा छन्। दोस्रो स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, तेस्रोमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, चौथोमा परराष्ट्रमन्त्री शिशिर खनाल र पाँचौँ स्थानमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।
यसअघि सातौँ वरीयतामा रहेकी सोविता गौतम नयाँ व्यवस्थाअनुसार तेस्रो स्थानमा पुगेकी हुन्।
त्यसैगरी छैटौँ स्थानमा गृहमन्त्री सुधन गुरुङ, सातौँमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र आठौँमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन रहेका छन्।
नयाँ मर्यादाक्रमअनुसार सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निशा मेहताले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
यस्तै, खडकराज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नयाँ व्यवस्थासँगै प्रधानमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद्को मर्यादाक्रम र मन्त्रालयगत जिम्मेवारीलाई पुनः व्यवस्थित गरिएको छ।




