काठमाडौं । नेपालको अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको फिचरलाई हाम्रो बीएनपीएल नाम दिइएको छ । यो सहकार्य सँगै ग्राहकले हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन् ।
फोनलोन प्रयोगकर्ताहरुले कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकबाट किस्ताबन्दीमा यो सुविधा आ-आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्नेछन् ।
हाम्रो बीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नु नपर्ने कम्पनीले जनाएको छ । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै यो सुविधा उपभोग गर्न सक्नेछन् । हाम्रो बजारको हाम्रो बीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनौट गर्न सक्नेछन्।
आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्नेछन्।
‘हाम्रो बीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन। यो नेपाली उपभोक्ताहरुका लागि इ-कमर्समा गेमचेन्जर भएको कम्पनीको दावी रहेको छ । हाम्रो बजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनाव विना सामान खरिद गर्ने वातावरण श्रृजना गर्न खोजेका हौं। यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ,’ फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने।
फोनलोन नेपालको डिजिटल कर्जा दिने माध्यम हो। यसले योग्य प्रयोगकर्ताहरुलाई तत्काल, धितोविनै ऋण उपलब्ध गराउँछ । फोनलोनले जसका लागि विभिन्न बैंकहरुसँग सहकार्य गरिरहेको छ।
हाम्रो बजार नेपालको मार्केटप्लेस हो। हाम्रो बजारमा विविध रेन्जका प्रडक्ट उपलब्ध छन् । भरपर्दो प्लाटफर्मकोरुपमा हाम्रोबजार गुणस्तरीय सामान उपलब्ध गराउँदै उपभोक्ताहरुको किनमेल अनुभवलाई एकदम फरक बनाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।