काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी पहिरोमा बेपत्ता हुनेहरूको तत्काल खोजी कार्य अघि बढाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
संस्थाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानका घटनाले पुर्याएको धनजनको क्षतिका कारण स्तब्ध भएको विज्ञप्तीमार्फत जनाएको छ ।
सहकारी संस्थाले बाढी पहिरोका घटनामा परी कतिपयले ज्यान गुमाएको र धेरै बेपत्ता भएकाले राहत र उद्धारमा जुट्न सरकार र सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
प्रतिकूल मौसमका कारण हताहती भएकाहरूको उद्धार र राहतका कार्यक्रममा संलग्न नेपाल सरकारका सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक र सहकारी संघ संस्थाका प्रतिनिधिहरू लगायत उद्धार तथा राहत कार्यमा जुट्ने सम्पूर्णप्रति आभार प्रकट गरेको छ ।
आगामी दिनमा आइपर्ने प्राकृतिक विपदमा सबैले आ- आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत विज्ञप्तीमार्फत अपिल गरिएको छ ।
‘बाढी पहिरो र प्राकृतिक विपदका कारणबाट भएको क्षति संकलन भइरहेको सन्दर्भमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र यसको सञ्जालमा रहेका सदस्य संस्था, सदस्य किसान वा व्यवसायमा के कति क्षति पुगेको छ त्यसको विवरण सम्वन्धित संघ, संस्था र संस्थाका अध्यक्ष, प्रबन्धकहरूलाई यस संस्थामा जानकारी गराउनुहुन समेत हार्दिक अनुरोध गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।