तीन महिनामा ६ अर्बको २५ सय ईभी आयात

काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारीको आयात बढ्दो क्रममा देखिन्छ । भन्सार विभागको २०८१/८२ को असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ बराबरको दुई हजार ५१८ यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको दुई हजार १३५ इलेक्ट्रिक सवारी आयात भएको थियो ।

सरकारले ईभी आयातबाट ३ अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ संकलन गरेको छ ।

नेपालमा चीन, भारत, अमेरिका र जर्मनीबाट ईभी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

नेपाल भित्रिएका कुल ईभीमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ भने दोस्रो स्थानमा भारत रहेको छ । चीनबाट तीन महिनाको अवधिमा १७ सय ६५ गाडी आयात हुँदा भारतबाट ७४७ गाडी आयात भएका छन् । जर्मनीबाट पाँच र अमेरिकाबाट एउटा ईभी नेपाल भित्रिएका छन् ।

नेपालमा सबैभन्दा ठूलो संख्यामा ५१ देखि १०० किलोवाट ब्याट्री क्षमताको ईभी आयात भएको छ । यस क्षमताको ४ अर्ब १६ करोड ३४ लाख ३१ हजार रुपैयाँ बराबरको १५ सय ८२ युनिट ईभी आयात भएको छ ।

५० किलोवाट क्षमताको एक अर्ब ३९ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको ७७२ युनिट ईभी भित्रिएको छ ।

१५९ युनिट १०१ देखि २०० किलोवाट क्षमताका, तीन युनिट २०० देखि ३०० किलोवाट क्षमताका र दुई युनिट ३०० किलोवाटभन्दा बढी ब्याट्री क्षमताका रहेका छन् ।

चालु आवको आर्थिक विधेयकमार्फत सरकारले ईभीमा भन्सार र अन्त:शुल्क बढाए पनि नेपालमा विद्युतीय सवारीसाधनको आकर्षण बढ्दै गएको देखिन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार