काठमाडौं । बालबालिका र युवाहरूको डिजिटल सुरक्षाका लागि चाइल्ड सेफनेटले टिकटकसँग सहकार्य सुरु गरेको छ । सो सहकार्यअनुसार पहिलो चरणमा बागमती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावकहरू र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने छ । सोही क्रममा चाइल्ड सेफनेटले बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरेको थियो ।
शुक्रबार ललितपुरमा भएको उक्त कार्यशालामा २० वटा विद्यालय र कलेजका ४० जनाभन्दा बढी सहभागीहरूलाई डिजिटल प्रविधिको सकारात्मक प्रयोग तथा चुनौतीहरूबारे चर्चा गरिएको थियो । बाल तथा युवामैत्री विधि प्रयोग गरिएको उक्त अन्तक्र्रियात्मक कार्यशालामा सहभागीहरूले सेक्स्टर्सन, रोमान्स स्क्याम र बाल यौन दुर्व्यवहार/शोषण सामग्रीजस्ता अनलाइन यौन दुर्व्यवहार र शोषणबाट सुरक्षित रहन जानकारी प्राप्त गरेका छन् ।
चाइल्ड सेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले युवाहरू र डिजिटल प्रविधिबीचको सम्बन्धबारे अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरेको जानकारी दिए ।