काठमाडौं । स्थानीय तहमा रिक्त रहेका ४१ जनप्रतिनिधि चुन्न उपनिर्वाचन भइरहेको छ । नगरपालिकाको प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि आज उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचनामा मतदाताहरु आज बिहानैदेखि मतदाताहरु लामबद्ध भएर मतदानमा भाग लिइरहेका छन् ।
उपनिर्वाचन हुने स्थानीय तहमा सरकारले आज एक दिन सार्वजनिक बिदा समेत दिएको छ ।
निर्वाचन कार्यक्रम बिहान सात बजेदेखि सुरु मतदान साँझ ५ बजे सम्पन्न हुने छ ।
कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख तथा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
बाँकी स्थानीय तहमध्ये कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचन चासोको केन्द्रमा छ । यहाँ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, स्वतन्त्रसहित २० जना उम्मेदवार छन् । कीर्तिपुरकै वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि पनि उपनिर्वाचन भइरहेको छ ।
कहाँकहाँ भइरहेको छ उप निर्वाचन ?
जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि मतदान भइरहेको छ ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका–६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ तथा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन जारी छ ।
त्यस्तै, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ को वडाध्यक्ष पदका लागि पनि मतदान जारी छ ।
नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौंडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा उपनिर्वाचन भइरहेको छ ।
दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि मतदान जारी छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।
निर्वाचन आयोगले कसैको प्रलोभनमा नपरी आफूले चाहेको उम्मेदवारको चुनाव चिह्नमा ढुक्क भएर मतदान गर्न सबैलाई आह्वान गरेको छ ।