काठमाडौं ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३ महिनामा ३४ करोड ६८ लाख २७ हजार दाखिला भएको छ । यो सँगै कोषको कुल रकम १ अर्ब ९१ करोड ६७ लाख २५ हजार पुगेको छ । मंसिर अन्तिम सातासम्म संकलित रकम सँगै उक्त मात्रामा रकम पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोषमा असारमसान्तसम्म १ अर्ब ५६ करोड ९८ लाख ९८ हजार मौज्दात रकम रहेको थियो । साउनको दोस्रो सातादेखि मंसिरसमम ३४ करोड ६८ लाख २७ हजार रकम थप भएको हो । उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ ।
कोषमा राष्ट्रिय वाणिज्य बैंकले २ करोड, नेपाल बैंकले २ करोड, कृषि विकास बैंकले १ करोड ५० लाख, भाटभटेनी सुपर मार्केटे १ करोड ११ लाख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ लाख २६ हजार ,हरि नारायण शर्भाले १ लाख , रविन्द्र नेपालीले १० हजार रकम सहयोग गरेका छन् ।
सरकारले गत असोज ११ र १२ गते अविरल वर्षा पछि आएको बाढी पहिरोबाट प्रभावित नागरिलकाई राहत तथा पुनः स्थापनका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको थियो । सरकारले बाढी, पहिरो,आगलागी, भू–कम्पन, आँधीबेरी, अतिवृष्टी, अनावृष्टी महामारी, दुर्घटना जस्ता दैवी प्रकोपका कारण आए पर्ने आर्थिक , भौतिक लगायतका समस्यालाई हल गर्नका लागि कोष सञ्चालन गरेको पाइन्छ । कोष सञ्चालनका लागि ८ सदस्यीय समितिको व्यवस्था गरिएको छ, जसको संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुनेछन् ।