काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार ५ अर्बको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंक तथा वित्तीय संसथाहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । ५ अर्बको नयाँ र १० अर्ब ४९ करोड नविकरण गर्न लागिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसर ९१ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल आगामी वैशाख ९ गते परिपक्व हुनेछ । बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन पाइनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।
यसअघि पुस २९ गते २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १५ अर्ब १७ करोड ४५ लाख बराबरको बोल परेको थियो । जसको औषत छुटदर २.७९ प्रतिशत रहेको थियो ।