काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । फागुन १५ देखि उक्त बचतपत्र निष्काशन हुन लागेको हो ।
कार्यालयले ३ वर्षे अवधिको नागरिक बचतपत्र निष्काशन गर्न लागेको हो । इच्छुक व्यक्तिले कुल निष्काशित रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकबराबर खरिद गर्न सक्नेछन् भने अर्धवार्षिक रूपमा ७ प्रतिशतका दरले ब्याजदर भुक्तानी गरिनेछ । बचतपत्र चैत १८ गतेसम्म खरिद गर्न पाइनेछ । उक्त बचतपत्रको साँवा भुक्तानी २०८६ चैत १८ गते हुनेछ ।
यस्तै भोलिदेखि नै ५ वर्षे अवधिको ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुन लागेको हो । यसमा वार्षिक ८।५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ भने अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिनेछ ।
वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको १० हजारले भाग गर्दा निःशेष भाग जाने अंक बराबर खरिद गर्न सक्नेछन् ।