काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि बजेट घटाएको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८२/८३का लागि बजेट झन्डै आधाले घटाइएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३को बजेटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चार अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । साथै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
मन्त्रालयको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालू आवमा आठ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको थियो । आगामी आवका लागि मन्त्रालयको बजेट झन्डै आधा अर्थात् ४७ दशमलव १६ प्रतिशतले कम हो । मन्त्री पौडेलले बेरोजगारी समस्या दिगोरूपमा समाधान गर्न श्रम बजारको मागअनुरूप युवा जनशक्तिको दक्षता वृद्धि गरिने बताए ।

