मासुजन्य पदार्थको उत्पादन हरेक वर्ष बढ्दै, प्रतिव्यक्तिलाई वार्षिक १५ ‘केजी’ मासुको उपलब्धता

काठमाडौं । सरकारले मासुजन्य पदार्थमा गरेको लगानी प्रतिफलस्वरुप हरेक वर्ष यसको उत्पादनमा वृद्धि भइरहेको छ । यो सँगै मानिसहरुलाई मासुजन्य पदार्थको उपलब्धता समेत बढ्दै गएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पछिल्लो आर्थिक वर्षहरुमा वार्षिक रुपमा करिब चार देखि पाँच लाख मेट्रिक टन ( राँगा भैंसी, भेडा, सुंगुर/बंगुर तथा खसीबोकाको गरी )मासु उत्पादन भइरहेको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा (राँगा भैंसी, भेडा, सुंगुर/बंगुर तथा खसीबोकाको गरी) मासु उत्पादन ४.१ प्रतिशतले वृद्धि भई करिब ४ लाख ४८ हजार मेट्रिक टन पुगेको छ । यससँगै प्रति व्यक्ति प्रति वर्ष मासुको उपलब्धता १५ किलोग्राम पुगेको छ। चालु आर्थिक वर्षको फागुनसम्म भने मासुउत्पादन २ लाख९८ हजार मेट्रिक टन पुगेको छ ।
२०८१ असारसम्म गाई/गोरु, सुंगुर/बंगुर र भैंसी/राँगा, खसी/बोका/बाखा र भेडा संख्यामा वृद्धि भएको थियो भने कुखुरा, खरायो र हाँसको संख्यामा कमी आएको थियो। यस अवधिमा घोडा, खच्चड, गधाको संख्या सबैभन्दा बढी ९५.३ प्रतिशतले बढेको छ भने फुल दिने हाँसको उत्पादन सबैभन्दा बढी ४० प्रतिशतले घटेको थियो।

मन्त्रालयका अनुसार मासु मात्र नभई माछा उत्पादन समेत बढेको छ । चालु आर्थिक वर्षको फागुनसम्म खाने माछाको उत्पादन ७५.८ हजार मेट्रिक टन रहेको छ । गत आर्थिक वर्ष खाने माछाको उत्पादन १२३.४ हजार मेट्रिक टन रहेको मन्त्रालयले जानकारी दिएको छ । आर्थिक वर्ष २०७९/८० मा भने ११३ हजार मेट्रिक टन माछा उत्पादन भएको थियो । पछिल्लो समय तराईका साथै पहाडमा समेत व्यवसायिक माछा उत्पादन थाले सँगै उत्पादनमा वृद्धि भएको विज्ञहरु बताउँछन् । सरकारले मासुजन्य पदार्थमा आत्मनिर्भर बन्ने रणनीति अनुरुप यसको उत्पादनमा वृद्धि गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

त्यस्तै पछिल्लो समय अण्डाको उत्पादन समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा व्यवसायिक लेयर्सको संख्यामा वृद्धि हुँदा अण्डा उत्पादन २.४ प्रतिशतले वृद्धि भई प्रति व्यक्ति प्रति वर्ष अण्डाको उपलब्धता ५५.५ गोटा पुगेको छ ।

अध्ययनका अनुसार मानिसलाई क्रियाशील जीवन व्यतित गर्न तथा स्वस्थ रहन प्रति के.जी. शारीरिक तौल बराबर भोजनमा कम्तीमा ०.८ देखि १ ग्राम प्रोटिनको आवश्यकता पर्दछ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनका अनुसार एक वयस्क व्यक्तिलाई वार्षिक न्यूनतम ९१ लिटर दूध, १४ किलोग्राम मासु र ४८ गोटा अण्डा आवश्यक पर्दछ । हालसम्मको उपलब्धि हेर्दा प्रति व्यक्ति प्रति वर्ष अण्डा र मासुको उपलब्धता यसको न्यूनतम आवश्यकता भन्दा बढी रहेको र दूधको उपलब्धता भने केही न्यून रहेको छ भने सरकारले त्यसको परिपूर्ति गर्नका लागि निरन्तर लगानी गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार