काठमाडौं । काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको दाबी गरेका छन् ।
शनिबार काठमाडौँमा पार्टी निकट मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको भूमिका देखेर आत्तिएकाहरूले भ्रष्टाचारको मुद्दा लगाउन खोजेको बताए ।
‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ, पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्’, उनले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै भने, ‘पूर्वाग्रह राखेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउन पहल भएको छ ।’
अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको उल्लेख गरे । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनले बताए । पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लगाएको गलत आरोप विरुद्ध दृढतासाथ उभिने भन्दै अध्यक्ष नेपालले न्यायपालिकाले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे ।

