नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तर निर्णय बमोजिम उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेवारी दिएको हो ।

टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडी बिलिङ प्रणालीमा अनियमितता र आर्थिक हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेसँगै निलम्बनमा परेकी छिन् । रिक्त रहेको स्थानमा मास्केलाई जिम्मेवारी तोकिएको हो ।

यसअघि मास्के कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छिन् । उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिएन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार