भिजिट भिसा प्रकरण : दुई सातादेखि संसद् अनिर्णयको बन्दी, गृहमन्त्रीको राजीनामा अड्कियो विवाद

काठमाडौं । भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको आरोप लागेपछि विपक्षी दलले गरेको विरोधका कारण दुई सातादेखि संसद् चल्न सकेको छैन । बुधबार पनि सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै विपक्षी दलका सांसदहरुले उठेर नाराबाजी गरेका थिए ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएकोमा विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित भएको थियो । गएको जेठ १३ देखि विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । अवरोधका कारण संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा बनेको सरकारले ल्याएको बजेटमा समेत हालसम्म छलफल हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने र भिजिट भिसा र अध्यागमनसँग सम्‍बन्‍धित नितिगत विषयमा अध्ययन गर्न समिति बनाउने राखेकोमा सरकारको नेतृत्व गरिरहेको एमाले त्यसमा सहमत भएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने गृहमन्त्रीको राजीनामासहित ५ बुँदे माग यथावत राखेको छ ।

गृहमन्त्रीको राजीनामा बाहेक अन्य बुँदामा सरकार लचक देखिएको छ । राजीनामामा सहमति हुन नसक्दा त्यही एक बुँदामा विवाद अड्किएको छ ।

रास्वपाले अख्तियारले गरिरहको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले सहयोग र सहजीकरण गर्ने, अगमन गर्न सर्वपक्षीय सांसदहरु सम्मिलित ‘लेजिस्लेटिभ ओभरसाइट ग्रुप’को रुपमा काम गर्ने, ५ दिनभित्र कार्यसम्पादन समितिको कार्यविधि तय गरी समिति गठन गर्नेलगायतका माग गरेको छ ।

यस्तै राजनीतिक प्रशासनिक जवाफदेहिता र कर्तव्यबोध खोज्दै गृहमन्त्रीको राजीनामाबारे निर्णय गर्नुपर्ने माग पनि रास्वपाले यथावत राखेको छ ।

आज दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक स्थगित भएकोमा रास्वपाले अडान कायम राखे आज पनि संसद् अवरुद्ध कायम रहने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार