CLI

एयर इन्डिया विमान दुर्घटना : २४१ जनाको मृत्यु, एकजना मात्र बाँच्न सफल

काठमाडौं । भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ यात्रुको मृत्यु पुष्टि भएको छ। दुर्घटनामा एक मात्र व्यक्ति जीवित रहेको एयर इन्डियाले जनाएको छ।

एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत जानकारी दिँदै उक्त विमानको उडान नम्बर एआईआई७१ मा चालक दलका १२ सदस्यसहित कुल २४२ जना सवार रहेको र तीमध्ये २४१ जनाले ज्यान गुमाएको पुष्टि गरेको हो। बाँच्न सफल एक व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये १६९ जना भारतीय, ५३ बेलायती, एक जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक रहेका छन्। यात्रु २२९ जना थिए भने चालक दलका सदस्य १२ जना थिए।

बाँच्न सफल यात्रु विश्वास कुमार रमेश नामक बेलायती नागरिक हुन्, जो भारतीय मूलका हुन्। उनी विमानको सिट नम्बर ११एमा बसेका थिए र अहिले अस्पतालमा उपचाररत छन्।

एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विमान उडेको केही क्षणमै दुर्घटनामा परेको थियो। उक्त उडान अहमदाबादबाट लन्डनस्थित ग्याटविक विमानस्थलतर्फ गइरहेको थियो।”

विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार दिउँसो १:३८ बजे उडेको मात्र दुई मिनेटमै खसेको हो।

Leave Your Comment

Related News