काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि मुद्दा दर्ता भएको छ । आइतबार लामिछानेसहित २९ जनाविरुद्ध एउटा मिसिलमा र अर्को मिसिलमा गितेन्द्रबाबु (जीबी) राईसहित १३ जनाविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पूर्वडीआईजी छविलाल जोशी, गोर्खा मिडियाका पूर्वसञ्चालक खिमानन्द बञ्जाडेलगायतलाई प्रतिवादी बनाइएको छ ।
लामिछानेसहित २९ जनाविरुद्ध दायर मुद्दामा १ अर्ब ३२ करोड रुपैयाँको र राईसहित १३ जनाविरुद्ध ९७ करोड ६८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । सरकारी ठगी प्रकरणको अभियोगपत्रमा लामिछानेले एक लाख जम्मा गरेर अघिल्लो दिन शेयर सदस्य बनी भोलिपल्टै डेढ करोड रुपैयाँ ऋण लिएको दाबी गरिएको छ ।
२०७८ साल साउन १८ गते लामिछाने सानो पाइला सहकारीको सदस्य बनेर आफ्नो खातामा १ लाख रुपैयाँ जम्मा गरी त्यसको भोलिपल्ट साउन १९ गते, उनले गोर्खा मिडिया नेटवर्कका नाममा १ करोड ५० लाख रुपैयाँ ऋण लिएको दाबी गरिएको छ । ऋणमा नोमिनीमा निकिता पौडेल र पिता लालचन्द्र लामिछानेको नाम उल्लेख गरेर लिइएको थियो।
लामिछानेले सानोपाइलबाट मात्र १० करोड ६ लाख रुपैयाँ लामिछानेले ऋण लगानीका रुपमा लगेको दाबी अभियोगपत्रमा गरिएको छ ।


