काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगै अब ग्राहकहरूले अनावश्यकरूपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नुपर्ने छैन ।
कम्पनीले बुधबार एक कार्यक्रमका बीच ‘सधैं अन’ नामक विशेष योजना सार्वजनिक गरेको हो । सो कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदै जाने भएकाले कम्पनीले पनि सोहीअनुसारको सेवा विस्तार गर्दै लाने गरेको बताए । दैनिक किनमेल, यात्रा, बैंकिङ कारोबारलगायतका कार्यहरू अनलाइनबाटै गर्ने भएकाले उनीहरूलाई ‘सधैं अन’ अर्थात् अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरू सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पु¥याउनु यो योजनाको अवधारणा रहेको छ ।
‘हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरू सेवा प्रदायकका प्लानहरू हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरूको जानकारीविना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोगबापत ब्यालेन्स कटाइ दिइरहेको हुन्छ’, उनले भने । यही समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको उनले बताए । ‘सधैं अन’मार्फत एनसेल ग्राहकहरूका ब्यालेन्स खतम हुने समस्या समाधान गर्ने उनको भनाइ छ । कम्पनीले ग्राहकहरूका सुझावहरूलाई विशेष ध्यानमा राखेर डेटा प्याकहरूलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकहरूलाई २० वटामा झारेको छ । कम्पनीका अनुसार नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ । १० मध्ये दुई जना मात्रै नेपालीले नियमितरूपमा मोबाइल डाटा प्रयोग गर्छन् । साथै, औसत प्रतिग्राहक प्रतिमहिना डाटा खपत मात्र चार जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो ।
‘सधैं अन’मा के छ ?
एनसेलको ‘सधैं अन’अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन वटा समूहमा आठ वटा विभिन्न आकर्षक प्लानहरू सञ्चालनमा ल्याएको छ । यसमा सात दिनको समयसीमा रहेको ९८ रुपैयाँबाट सुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेको एक हजार चार सय ९९ रुपैयाँ पर्नेसम्मको विभिन्न प्लानहरू रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बन्डलिङ रहेको छ । यी प्लानहरू ग्राहकलाई विद्यमान शुल्कभन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुने बताइएको छ । यसका साथै ‘सधैं अन’सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्छन् ।
कम्पनीका अनुसार ग्राहकले ९९ रुपैयाँको बेसिक प्लान सुचारु गरेमा दुई जीबी डेटा, एक जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो सात दिनको लागि मान्य रहनेछ । त्यस्तैगरी चार सय ९९ रुपैयाँको बेस्ट प्लान सुचारु गर्नेले १२ जीबी डेटा, पाँच जीबी निःशुल्क सोसल मिडिया डेटा, चार सय ४९ मिनेट अल नेपाल कल टक टाइम र चार सय ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ । आफ्नो आवश्यकताअनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्नेलाई एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरू पनि ल्याएको छ । यस प्लानअन्तर्गत एक हजार चार सय ९९ रुपैयाँको प्याक सुचारु गर्नेले एक सय जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याकअन्तर्गतको सेवाहरू २८ दिनको लागि मान्य रहन्छ । ग्राहकले एस्ट्रिक्स१२३ह्यास डायल गरी सजिलै आफ्नो आवश्यकताअनुसार कुनै पनि ‘सधैं अन’ प्लान लिन सक्नेछन् ।