काठमाडौं । देशका विभिन्न भूभागमा मनसुनी वायु सक्रिय भएको छ भने पश्चिमतर्फ स्थानीय र पश्चिमी वायुले समेत प्रभाव बनाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ।
यस प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती प्रदेशका केही स्थानहरूमा र कोशी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा चट्याङसहित भइरहेको जानकारी छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र अन्य प्रदेशका केही भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै, यी प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक वर्षा पनि हुनसक्ने चेतावनी दिइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना समेत रहेको छ।
रातिको समयमा पनि अधिकांश भूभागमा बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुनसक्ने महाशाखाले जनाएको छ। हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको अवस्था बन्नसक्नेछ।
भारी वर्षाको सम्भावनाले जनजीवन, खेतीपाती, स्वास्थ्य सेवा, सडक तथा हवाई यातायातमा असर पुर्याउन सक्ने भएकाले सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न मौसम विभागले सर्वसाधारणमा अपिल गरेको छ।

