काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले देश अधोगतितिर गइरहेको बताएका छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले समाजमा बढेको अपराधिकरणले देश राम्रो बाटोमा नभएर अधोगतितिर गइरहेको बताएका हुन्।
उनले देशमा जता हेरे पनि अनियमितता, अपराधिकरण, भ्रष्टाचार, हत्या हिंसा र लुटतन्त्रले मौलाउने अवसर पाइरहेको बताए। यसलाई सरकारले नियन्त्रण गर्नुपर्नेमा सरकार स्वयं नै बिरामी रहेको उनको टिप्पणी थियो।
सुनारले सरकार आफ्नै व्यथा हल गर्न नसकेको सरकारले जनताको व्यथा हल गर्न नसक्नु विडम्बना भएको जिकिर गरे। उनले अदालत गन्हाइरहेको जनमानसको भनाइ रहेको बताउँदै सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए। उनले मुलुकमा सुशासन भनिए पनि कुशासन भएको जिकिर गरे।
सुनारले भने, “अनियमितता, अपराधीकरण, भ्रष्टाचार र हत्या हिंसा जस्ता लुटतन्त्रले मौलाउने अवसर पाइरहेको छ। यसलाई सरकारले आफ्नै व्यथा हल गर्न सकेको छैन, जनताको व्यथा कसरी हल गरोस्। अदालत गन्हाइरहेको सारा जनमानसको भनाइ छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। हामी सधैँ सुशासन, सुशासन, सुशासन भएन भन्छौँ, भएको छ कुशासन।”
उनले सकारात्मक सोचसहित सकारात्मक बाटो जानुपर्नेमा जोड दिँदै सरकार र जनता एकजुट भएर अघि बढ्नुपर्ने बताए।

