काठमाडौं । गत शनिबार राति अमेरिकाले इरानका तीन आणविक साइटमा आक्रमण गर्यो । इजरायल-इरान युद्धमा त्यो अमेरिकाको प्रत्यक्ष प्रवेश थियो ।
इजरायलको हवाई आक्रमणमा इरानका एफ-१५ र एफ-५ लडाकु विमान, इन्धन भर्ने विमान एएच-१ कोब्रा अट्याक हेलिकप्टर नष्ट गरेपछि इरानले जवाफी आक्रमण गरिरहेको बेला अमेरिका युद्धमा प्रवेश गरेको थियो । अमेरिकाद्वारा फोर्डो , नतान्ज र इस्फहान स्थित आणविक केन्द्रहरूमा बम आक्रमण गरिएको थियो ।
अमेरिकी आक्रमणपछि इरानले छोटो आधिकारिक वक्तव्य जारी त्यो सतही भएको कुनै मानवीय क्षति नभएको बतायो । आइतबार इरानले अमेरिकी उक्त आक्रमण गम्भीर गल्ती भएको बतायो ।
सोमबार राति इरानले कतारस्थित अमेरिकी बेसक्याम्पमाथि मिसाइल प्रहार गर्यो । इरानले १९ वटा मिसाइल हानेको दाबी गरेकोमा ६ वटा मिसाइल बेसक्याम्पमा खसेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो। तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ।
कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गरे । उनले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गरे ।
इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ । यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ । यसबीच, खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायी रूपमा बन्द गरे । कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन् ।
कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन् ।
इरानको आक्रमणपछि सोमबार राति अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल अमेरिकाबिच युद्धबिराम घोषणा भएको दाबी गरेका छन् । युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको उनको दाबी छ । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका छन् । प्रारम्भमा इरानले युद्धविराम सुरु गर्ने र त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ । त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्ने उनको भनाइ छ ।
ट्रम्पको घोषणापछि कतारको नागरिक उड्डयन प्राधिकरणले देशमा हवाई यातायात पुनः खुला गरिसकेको छ । स्थिति सामान्य अवस्थामा फर्किएको उल्लेख गर्दै हवाई यातायात पुन: खुला गरिएको हो ।
यद्यपि, युद्धविराम दीर्घकालीन हो या होइन भन्ने यकिन भैसकेको छैन ।

