काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार पनि संसद् अवरोधलाई कायमै राखेका छन्। दुवै दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको अडान कायमै राख्दै संसद अवरोध राखेका हुन् ।
रास्वपा र राप्रपाले अहिले बनेको उच्चस्तरीय छानबिन समितिले लक्ष्यअनुरुप नतिजा दिन नसक्ने भन्दै सदनमा आफ्नो कुरा राखेर सदन बहिष्कार गरेका हुन् । दुईटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने बताए । संसद बैठक सुरु भएपछि गृहमन्त्री लेखकले छानबिन समिति गठनबारे जानकारी गराएका थिए ।
दुवै दलले समय भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका साथै साथै सत्य तथ्य छानबिनको माग गर्दै आएका छन् । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेपनि दुई दलले विरोधलाई निरन्तरता दिएका हुन् । समितिको नेतृत्वमाथि नै दुई दलले अविश्वास प्रकट गरेको छ ।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आइरहेको छन्।

