सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल धितोपत्र बोर्डबाट साढे २ अर्बको ऋणपत्र (डिबेन्चर) निष्काशनका लागि अनुमति पाएको छ । बैंकले ७.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।

तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा सम्पत्ति धितोमा नराखी लामो अवधिका लागि ऋण उठाउने वित्तीय औजारलाई ऋणपत्र भनिन्छ । यसको अंकित मूल्य साधारतया एक हजार रुपैयाँ हुन्छ ।

सिद्धार्थ बैंकले १ हजार अंकित मूल्यका २५ लाख ऋणपत्र जारी गर्न लागेकोमा त्यसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड ऋणपूँजी व्यक्तिगत तबरबाट बिक्री गरिने छ । ४० प्रतिशत अर्थात १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ऋणपूँजी रकम ( ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्टयाइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने  छ ।

ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्ता र अधिकतम् २५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

ऋणपत्रमा आगामी असार २९ गतेदेखि छिटोमा असार ३२ गतेसम्म र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार