वन्यजन्तुको सुरक्षालाई ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

झापा ।एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ संरचनाको ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। कोशी प्रदेशमा निर्माण भइरहेको एकमात्र यस्तो संरचना वन्यजन्तुको सुरक्षालाई प्राथमिकता दिँदै अघि बढाइएको हो।

आयोजनाका इञ्जिनीयर आश्रय महतका अनुसार हाल सिङ्गल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत सकिएको छ। गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन बनाइएको र त्यसपछि पुनः निर्माण कार्य तीव्र बनाइएको आयोजना प्रमुख इञ्जिनीयर सुनिलबाबु पन्तले जानकारी दिए।

करिब १५ मिटर लम्बाइ र ६.५ मिटर उचाइ रहेको संरचनाको लागत ३ करोड ३९ लाख ५८ हजार रुपैयाँ रहेको छ। हालसम्म १ करोड ५२ लाख रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ।

चाराली क्षेत्रको सामुदायिक वन, सेनाको वन संरक्षण इकाइ र भारतसँगको खुला सीमा हुँदै प्रवेश गर्ने वन्यजन्तुले स्थानीय बस्तीमा जनधनको क्षति पुर्‍याउँदै आएका छन्। पछिल्ला वर्षमा हात्ती, चितुवा र बाघको आक्रमणबाट ३० जनाको मृत्यु भइसकेको पन्तले जानकारी दिए।

वन कार्यालयका अधिकृत ऋषि तिम्सिनाका अनुसार झापाका मेचीनगर, अर्जुनधारा, भद्रपुर, बिर्तामोड लगायत क्षेत्रमा बाँदर र हात्तीको समस्या उच्च छ भने उत्तरी झापामा चितुवा र बाघको त्रास रहेको छ।

स्थानीय बासिन्दा र वन अभियन्ताहरूले यो संरचनाले वन्यजन्तुको सुरक्षित मार्ग सुनिश्चित गर्नुका साथै मानव क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

बिर्तामोड–७ का बद्री प्याकुरेलले विगतमा राखिएको ‘फेन्सिङ’ तारले अपेक्षित नतिजा नदिएको बताउँदै अहिलेको संरचनालाई दीर्घकालीन समाधानका रूपमा हेर्नुपर्ने धारणा राखे।

हात्ती अभियन्ता अर्जुन कार्कीले हात्ती व्यवस्थापनलाई द्वन्द्वको रूपमा मात्र नभई सम्भावनाको रूपमा हेर्नुपर्ने र तीन तहकै सरकारको समन्वय आवश्यक रहेको बताए।

पूर्वी झापामा मानव–वन्यजन्तु सहअस्तित्वको दिशामा एलिफेन्ट क्रसिङ संरचना दीर्घकालीन रूपमा प्रभावकारी हुने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार