काठमाडौं । नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको तीव्र विकास र स्वतन्त्र पेशाकर्मी (फ्रिल्यान्सर)को संख्या बढ्दो क्रममा छ । यस्तोमा फ्रिल्यान्सरलाई बैंकिङ प्रणालीमा जोड्न सिटिजन्स बैंकले पहिलो पटक ‘फ्रिल्यान्सर सेभिङ अकाउन्ट’ सार्वजनिक गरेको छ । बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारस विक्रम थापाका अनुसार यो योजना विशेष गरी स्वतन्त्र रुपमा काम गरिरहेकाहरूलाई बैंकिङ प्रणालीमा समेट्ने उद्देश्यले ल्याइएको हो।
थापाका अनुसार नेपालले हाल रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउँदै आएको भए पनि भविष्यमा आईटी सेवा निर्यात र स्वतन्त्र पेशाकर्मीहरूको भूमिकाले अझ ठूलो योगदान पुर्याउन सक्ने विभिन्न अध्ययन अनुसन्धानमा देखिएको छ ।
एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) को प्रतिवेदन अनुसार सन् २०२२ मा नेपालले ५१ करोड ५४ लाख अमेरिकी डलर बराबरको आईटी सेवा निर्यात गरेको थियो । यस्तै, करिब ६६ हजार ५०९ जना फ्रिल्यान्सर आईटी क्षेत्रमा सक्रिय थिए र पछिल्लो तीन वर्षमा यो संख्या अझै बढेको अनुमान छ ।
आईआईडीएसको प्रतिवेदन सार्वजनिक भएपछि आईटी क्षेत्रमा स्वतन्त्र रुपमा काम गर्ने जनशक्तिको संख्या ठूलो छ । तर त्यस्ता जनशक्ति अन्य संघसंस्थामा काम गर्ने कर्मचारी सरहको सुविधा उक्त बैंकिङ प्रणालीको पहुँच बाहिर रहेको सिटिजन्स बैंकले गरेको अध्ययनमा देखिएको प्रमुख थापा बताउँछन् । ‘आईटी क्षेत्रले स्वतन्त्र रुपमा विदेशमा काम गरेर ठूलो मात्रमा वैदेशिक मुद्रा भित्र्याइरहेको छ । तर उहाँहरुलाई सहज हुने किसिमको बैंकिङ अभ्यास नेपालमा सुरु गरिएको थिएन । त्यो ग्याप पूर्ति गर्ने लक्ष्यका साथ सिटिजन्स बैंकले फ्रिल्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको हो,’ थापाले भने ।
सिटिजन्स बैंकले आफ्नो वार्षिक उत्सवमा ग्राहकका लागि विभिन्न नयाँ र नौलो बैंकिङ अभ्यास गर्दै आइरहेको छ । यस पटक पनि बैंकले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा वैशाख ७ गतेदेखि फ्रिल्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको हो।
सुरुवाती चरणमा बैंकले आईटी पेशाकर्मीलाई लक्षित गरेर फ्रिल्यान्सर सेभिङ अकाउन्ट सुरु गरेको थियो । यो स्किम सुरु गरे पश्चात अन्य पेशामा आवद्ध फ्रिल्यान्सरहरुले पनि चासो देखाएको थापा बताउँछन् । पछिल्लो समय राइड सेयरिङ लगायत अन्य क्षेत्रमा स्वतन्त्र पेशाकर्मीको उल्लेखनीय उपस्थिति छ । आईटी क्षेत्र सहित अन्य पेशाकमीलाई पनि यस योजनामा समेटेर बैंक अघि बढेको छ ।

खाता खोल्ने प्रक्रिया
फ्रिल्यान्सर सेभिङ अकाउन्ट नेपाली रुपैयाँ वा अमेरिकी डलर दुवैमा खोल्न सकिन्छ। नेपाली रुपैयाँको खाताका लागि नागरिकता, फोटो, राष्ट्रिय परिचयपत्र नम्बर र काम तथा आम्दानीको स्वघोषणा आवश्यक पर्छ। र खातामा न्यूनतम ५०० रुपैयाँ राख्नु पर्छ । डलर खाताको हकमा भने थप दस्ताबेजको रुपमा विदेशी मुद्रा आम्दानीको प्रमाण पेश गर्नुपर्छ। खातामा न्यूनतम १० अमेरिकी डलर हुनुपर्छ । खाता बन्द गर्दा वा यस योजनाबाट बाहिरिदाँ उक्त न्यूनतम रकम बैंकले फिर्ता गर्ने थापाको दाबी छ ।
सुविधाहरू र लाभ
फ्रिल्यान्सर सेभिङ अकाउन्टमा नेपाली खाताका लागि अधिकतम ४.५ प्रतिशत र डलर खातामा ३.७५ प्रतिशत ब्याजदर पाइन्छ। खाता सम्बन्धित सेवाहरू – मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, डिम्याट खाता, चेकबुक जस्ता सुविधा निःशुल्क उपलब्ध छन्। साथै, विदेशी मुद्रा सटहीमा विनियम दरभन्दा १० पैसा बढी प्राप्त हुने र डलर ट्राभल कार्ड तथा ई–कमर्स कार्डमा ५० प्रतिशत छुटको सुविधा पनि छ। साथै विदेशी मुद्रामा आम्दानी गर्दा सरकारलाई तिर्नु पर्ने कर बैंकबाट नै चुक्ता गर्न सकिन्छ । कर चुक्ता प्रमाणपत्र पनि बैंकबाट नै उपलब्ध गराइने छ ।
अतिरिक्त सुविधा
फ्रिल्यान्सर सेभिङ अकाउन्टमा फोर्स सेभिङ (रिकरिङ डिपोजिट) को विकल्प पनि छ । जसअन्तर्गत मासिक न्यूनतम १ हजार रुपैयाँदेखि बचत गर्न सकिन्छ र फिक्स डिपोजिट बराबरको ब्याजदर पाइन्छ। ३ महिना देखि १० वर्षसम्मको अवधि चयन गर्न सकिने र आवश्यकताअनुसार बचत रकम झिक्न सकिने व्यवस्था गरिएको छ। यस बचतको आधारमा क्रेडिट कार्डको सुविधा समेत दिइनेछ, जसले स्वतन्त्र पेशाकर्मीलाई थप आर्थिक सहजता प्रदान गर्ने बैंकको विश्वास छ ।
थापाले भने, ‘फ्रिल्यान्सर सेभिङ अकाउन्ट मार्फत स्वतन्त्र पेशाकर्मीले व्यवस्थित बचत गर्न, बैंकिङ सेवा उपभोग गर्न र आफ्ना आम्दानीलाई सुरक्षित र पारदर्शी बनाउन सक्नेछन्।’ बैंकले यो योजना स्वदेशमै केही नयाँ गर्न चाहने फ्रिल्यान्सरहरूका लागि लाभदायक हुने विश्वास लिएको छ।
बीमा सुविधा
फ्रिल्यान्सर सेभिङ अकाउन्ट खोल्ने ग्राहकलाई २५ हजार रुपैयाँसम्मको मेडिकल इन्स्योरेन्स तथा दुर्घटना बीमाको सुविधा उपलब्ध छ । मेडिकल इन्स्योरेन्सको हकमा ग्राहकले हस्पिटल भर्ना भएको प्रमाण र बिलको आधारमा दाबी भुक्तानी गरिने छ । यो सुविधा खाता खोलेको एक वर्षसम्म लागु हुन्छ । त्यस पछि भने ग्राहकको आवश्यकता र मागको आधारमा थप व्यवस्था गर्न सकिने बैंकले जनाएको छ ।

