काठमाडौं । दाउरा काट्न जाँदा चीनमा भएको वर्षाको कारण एक्कासी त्रिशुली नदीमा आएको बाढीमा फसेका दम्पत्तिको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट नुवाकोट, विदुर नगरपालिका १ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र श्रीमती ६२ वर्षीय मंगली तामाङको उद्धार गरिएको हो ।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरु दुवैको उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।
नुवाकोटस्थित त्रिशुली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जलस्तर बढ्दो क्रममा रहेकाले त्रिशुली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहेकालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

