काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर दीपक अर्याललाई नियुक्त गरेका छन् । अर्याल वरिष्ठ हाँस्यव्यङ्ग्य निबन्धकार, पत्रकार तथा कवि स्वर्गीय भैरव अर्यालका छोरा हुन् ।
२०५२ सालमा सेवामा प्रवेश गरेका अर्याल यसअघि त्रिवि जल तथा मौसम केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख रहेका थिए । तीन दशकदेखि त्रिविमा सेवारत अर्यालले त्रिभुवन विश्वविद्यालयबाट मौसम विज्ञानमा स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम स्थान हाँसिल गर्दै तत्कालीन राजाबाट महेन्द्र विद्या भूषण ‘ख’ पदक प्राप्त गरेका थिए ।
अर्यालले बुधबार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

