मिडिया काउन्सिल सरकारसँग जोडिनु पर्छ : मन्त्री गुरुङ

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल सरकारसँग जोडिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले मिडिया काउन्सिल सरकारबाट पूर्ण रूपमा अलग भएर बस्न सम्भव नहुने बताएका हुन् ।

‘मिडिया काउन्सिको बारेमा स्वतन्त्र र स्वायत्त हुनुपर्‍यो भन्ने कुराहरू उठिरहेको छ । यो स्वतन्त्र र स्वायत्त नै हो । सञ्चार क्षेत्रलाई मर्यादित बनाउने कुरा पनि छँदैछ‘ उनले भने, ‘तर, स्वतन्त्रको नाममा सरकारबाट पूरै अलग भएर बस्ने कुरा पनि होइन ।‘

उनले थपे, ‘सञ्चार क्षेत्रले कहीँ न कहीँ सरकारसँग जोडिनैपर्छ । सरकारको हस्तक्षेप र नियन्त्रण हुनसक्ने भन्दै हामीले स्वतन्त्र संयन्त्रको विकास गर्न खोजेको हो ।‘ ‘मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र जिम्मेवार भएर कसरी काम गर्ने भन्ने कुरालाई महत्वपूर्ण ढंगले हेर्नुपर्छ । तर सरकारसँग केही न केही जोडिएको चाहिँ हुनुपर्छ,’ उनले भने ।

मन्त्री गुरुङले सामाजिक सञ्चालको माध्यमबाट हुने साइबर अपराधको अवस्था गम्भीर भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म १९ हजार ७३० वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् ।

‘साइबर बुलिङ या साइबर क्राइम जे जे भइरहेको छ, जेठ मसान्तसम्म साइबर क्राइम सम्बन्धी १९ हजार ७३० वटा उजुरी परेको छ । अहिले सामाजिक सञ्जालबाट ठगियौं भनेर निवेदन दिनेहरूको संख्या नै त्यति धेरै छ,’ उनले भने ।

राष्ट्रिय सभाबाट पास भएर आएको मिडिया काउन्सिल विधेयकमाथि समितिले सैद्धान्तिक छलफल सकाएको छ । समितिको सोमबार र मंगलबारको बैठकमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार