काठमाडौं । भारतले जुलाई २४ देखि चिनियाँ नागरिकहरुलाई पर्यटक भिसा दिन पुनः सुरु गर्ने भएको छ । यस्तो निर्णय ५ वर्षपछि लिइएको बेइजिङस्थित भारतीय दूतावासले बुधबार जानकारी दिएको छ ।
भारत र चीनबीच सन् २०२० मा हिमाली सीमामा भएको सैन्य झडपपछि दुवै देशबीचको सम्बन्ध तनावपूर्ण बनेको थियो । सो घटनापछि भारतले चिनियाँ लगानीमा प्रतिबन्ध लगाएको, सयौं चिनियाँ एपहरु प्रतिबन्धित गरेको र यात्रु मार्गहरु कटौती गरेको रोयटर्सले जनाएको छ ।
त्यसैबेला, कोरोना महामारीका कारण चीनले भारतीय नागरिकलगायत अन्य विदेशीहरुका लागि भिसा स्थगित गरेको थियो । तर सन् २०२२ मा चीनले विद्यार्थी तथा व्यवसायिक यात्रुहरुका लागि भिसा पुनः सुरु गर्दै ती प्रतिबन्ध हटाएको थियो ।
भारतीय नागरिकका लागि पर्यटक भिसामा प्रतिबन्ध मार्च २०२५ सम्म कायम थियो । त्यतिबेला दुवै देशबीच प्रत्यक्ष हवाई सेवा पुनः सुरु गर्ने सहमति भएको थियो ।
यस वर्षको सुरुमा दुवै राष्ट्रले प्रत्यक्ष उडान पुनः सुरु गर्ने, भिसा सेवा फेरि सुरु गर्ने र कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने सैद्धान्तिक सहमति गरेका थिए । भारतीय तीर्थयात्रीहरुका लागि मानसरोवर यात्रा एक प्रमुख धार्मिक मार्ग हो ।
दुवै देशबीचको सम्बन्धमा स्थिरता ल्याउने र विश्वास पुनः स्थापित गर्ने उद्देश्यले यो सहमति गरिएको हो ।

