काठमाडौं । १ वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशत बढेको छ । २०८१ असार ३१ गते बैंकहरुले कुल ५७ खर्ब ५४ अर्ब रुपैयाँ भन्दाधेरैको निक्षेप संकलन गरेका थिए । २०८२ असार ३१ सम्म आइपुग्दा निक्षेप संकलन ६५ खर्ब ३० अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ । निक्षेप संकलन ७ खर्ब ७६ अर्बले बढेको हो । त्यसैगरी, कर्जा प्रवाह पनि ८.८३ प्रतिशतले बढेर ४९ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २०८१ असार ३१ गतेसम्म कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब रुपैयाँ थियो । १ वर्षमा ४ खर्ब ३ अर्बले कर्जा प्रवाह बढेको हो । पछिल्लो एक वर्षको अवधिमा बैंकहरुमा निक्षेप वृद्धि कर्जा वृद्धिभन्दा उच्च देखिएको छ । यसले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको संकेत गर्छ ।
यो प्रवृत्तिले ब्याजदरमा स्थायित्व ल्याउने, लगानीको वातावरण बलियो बनाउने र बैंकहरुलाई कर्जा प्रवाहमा सहजता दिने विश्वास गरिएको छ । बैंकमा निक्षेप अत्याधिक बढेको छ । यसले लगानीकर्तामा आत्मविश्वास बढाउने र कर्जा प्रवाह सहज बनाउने अपेक्षा गरिएको छ । सबैभन्दा धेरै निक्षेप संकल गर्नेमा ग्लोबल आइएमई बैंक अगाडि छ ।
यसले ५ खर्ब ७५ अर्ब भन्दा धेरै निक्षेप संकलन गरेको छ । सबैभन्दा कम स्टान्डर्ड चार्टर्ड बैंकले १ खर्ब २७ अर्ब रुपैयाँ भन्दा धेरैको निक्षेप संकलन गरेको छ । कर्जा प्रवाहमा पनि ग्लोबल आइएमई बैंक अगाडि छ । यसले ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रकम कर्जा प्रवाह गरेको छ । स्टान्डर्ड चार्टर्डले भने ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।



