काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ४७ अर्ब ६० करोड ६ लाख ९३ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा २ अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उनले पेट्रोलियम पदार्थ १९ अर्ब ९४ करोड रुपैयाँको आयात हुँदा ४ अर्ब ४५ करोड बढीका जुट तथा जुटका सामग्री आयात भएका जानकारी दिए ।
गत आवमा आयात र निर्यातमा सामान्य वृिद्ध भएको भन्सार अधिकृत हुमागाईंले बताए । उनका अनुसार आयातमा ६ दशमलव ५८ प्रतिशत अर्थात् २ अर्ब ९३ करोडले वृद्धि हुँदा निर्यात भने २ दशमलव ९६ प्रतिशत अर्थात् ७२ करोड २७ लाखले बढेको छ ।
गत वर्ष यो नाका हुँदै २५ अर्ब १३ करोड ९७ लाख मूल्य बढीका वस्तु तथा सामान निर्यात गरिएको भन्सार अधिकृत हुमागाईंले जानकारी दिए । आव २०८०/८१ मा २४ अर्ब ४१ करोड ७० लाख मूल्य बराबरको वस्तु निर्यात गरिएको थियो । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् ।
रासस

