काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब ६४ करोड मूल्य बराबरका साना ठूला २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो ।
गत आवमा १२ करोड ६ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । ती सवारीसाधनको आयातबाट १९ करोड ७४ लाख राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए ।
सोही अवधिमा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका १३ करोड ४ लाख मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका २४ करोड ८० लाख मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४३ करोड २ लाख मूल्य पर्ने १ हजार ८२१ थान विद्युतीय मोटरसाइकल आयात भएका छन् ।
प्रमुख भन्सार प्रशासक लामिछानेका अनुसार १२ करोड ६ लाख मूल्य पर्ने २०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन् ।

