काठमाडौं । जन्मदर घट्दै गएको चिनियाँ जनसंख्या सन्तुलनमा सहयोग पुर्याउने उद्देश्यले चीन सरकारले साना बालबालिकाका अभिभावकलाई प्रतिवर्ष ३,६०० युआन (झण्डै ५०० अमेरिकी डलर) अनुदान दिने घोषणा गरेको छ ।
सन् २०१५ मा बहुचर्चित “एक सन्तान नीति” अन्त्य भए पनि जन्मदर निरन्तर घट्दै गएको छ । यसै सन्दर्भमा सरकारको पहिलो पटक राष्ट्रव्यापी रुपमा लागू गरिएको यो नगद सहायता योजनाले करिब २ करोड परिवारलाई राहत मिल्ने जनाइएको छ।
सोमबार घोषणा गरिएको यो योजना सन् २०२५ को सुरुदेखि लागू हुने जनाइएको छ । एक जना बच्चाको लागि अधिकतम १०,८०० युआन (अर्थात् करिब १,५०० डलर) सम्मको अनुदान उपलब्ध गराइनेछ । साथै, सन् २०२२ देखि २०२४ बीच जन्मिएका बालबालिकाका अभिभावकहरुले पनि आंशिक रकमको लागि निवेदन दिन सक्नेछन् ।
यसअघि, विभिन्न प्रान्तहरुमा बच्चा जन्माउनेलाई प्रोत्साहनस्वरुप नगद सहायता दिने योजनाहरु चलाइएका थिए। मार्चमा चीनको उत्तरी सहर होहटले तीन वा बढी सन्तान भएका परिवारलाई प्रति बच्चा १ लाख युआनसम्म अनुदान दिने घोषणा गरेको थियो। त्यस्तै, बेइजिङ नजिकको सहर शेन्याङले तेस्रो सन्तान भएका परिवारलाई मासिक ५०० युआन सहयोग गर्दै आएको छ।
हालै मात्र सरकारले निशुल्क पूर्व-प्रारम्भिक (प्रिस्कूल) शिक्षा प्रदान गर्न स्थानीय सरकारलाई योजना बनाउन निर्देशन पनि दिएको छ। चीनमा बच्चा पालन पोषण गर्न अत्यधिक खर्च लाग्ने अध्ययनले देखाएको छ। चीनस्थित युवा पपुलेसन रिसर्च इन्स्टिच्युटको एक रिपोर्ट अनुसार १७ वर्षसम्म बच्चा हुर्काउन औसतमा ७५ हजार ७०० डलर लाग्ने देखाइएको छ ।

